'अन्तर' को अन्तरकुन्तर
(एक विवेचनात्मक आधारपत्र)
- गणेश कार्की
ठ्याक्कै
२ बर्ष पहिलेको कुरा हो, रमेश सायनको फोन आयो । "एउटा उपन्यासको ड्राफ्ट सकेँ
! पढेर
सुझाव दिनु है । सक्दो चाँडो नि ।”, उनको स्वरमा लेखकीय उत्साह
त छँदै थियो तर
खोइ किन हो, अलिकति संकोच पनि थियो । हतारो पनि थियो ।
सायनले बिहानको साढे १०
बजेतिर फोन गरेका थिए । मैले हुन्छ भनिसकेको केही मिनेटमा नै इमेलमा १५० पेजको
उपन्यासको ड्राफ्ट आइसकेको थियो । खाना खाएर मैले पढ्न सुरु गरेँ । कथा र
लेखाइले तानिरह्यो । मैले धेरै समय लगाइनँ । साढे ३ घण्टा जस्तोमा
पढिसिध्याएँ । सुझाव दिनु पर्ने शर्त रहेकाले मुख्य पात्रहरु र उपकथालाई टिपोट गरेको
थिएँ ।
"पढिसकेँ । ल कुरा
गरौँ ।”,
मैले सायनलाई कल गरेँ ।
"पढ्दै नपढी गफ दिन
लागेको त होइन नि?", सायनले पत्याएनन् ।
मैले पात्रका नाम, तिनका
उपकथा, कथाको सुरु, मध्य र अन्त्य भनिदिएँ । "अब सुझाव पनि छन् ।”,
पढिसकेको विश्वास पाएपछि मैले भनेको थिएँ । उनले सुझाव लेखेरै पठाउन भने ।
मैले ५०० शब्द जतिका १४
बुँदा सुझावहरु लेखेर इमेल गर्दा दिनको सवा ५ बजिसकेको थियो ।
पछि दोस्रो ड्राफ्ट पनि
आयो । पढिनँ । चुनावको चपेटामा थिएँ म । त्यसको केहीपछि
अब चै फाइनल भयो भनेर सायनले सुनाए । "किताबै पढ्छु ।”, सायद सायन जत्तिकै उसको
उपन्यास छापिएको पर्खाइमा म पनि थिएँ ।
किताब छापिएर सार्वजनिक
हुनुभन्दा पहिले हात पर्यो । पढी सिध्याएँ । किताबको कथानक
केही फेरिएछ । कथा भन्ने शैली फेरिएछ । अन्त्य केही फेरिएछ
। तर मुलकथा र बहाव उस्तै मिठो !
***
यी माथिका
सबै कुराहरु
किताबसँग भन्दा पनि सायनसँगको व्यक्तिगत सम्बन्धका कुरा हुन् । सायनले ड्राफ्ट
मलाई इमेल गरेको अनि सार्वजनिक हुनुभन्दा अगाडि किताब ल्याएर दिएको कुरा
यहाँ भन्न जरुरी छ भन्ने लाग्छ । किनभने, मेरो सायनतर्फको
पक्षकारितालाई म स्वतन्त्र र निष्पक्ष
विवेचनाको लेपनमा प्रस्तुत गर्न चाहन्नँ ।
बरु सामान्य मानवीय स्वभावको पक्षकारितालाई स्वीकार्दै आफ्ना उपन्यासमा प्रवेश गर्नुभन्दा
पहिले आफ्ना केही अस्वीकरण
(Disclaimers) प्रस्तुत गर्दछु ।
१. म पक्षपाती हुन सक्छु: सायनसँगको आत्मियताले मलाई
उसको पुस्तक आवश्यकताभन्दा बढी मन परेको हुन सक्छ, वा सायनको
किन चित्त दुखाउनु भनेर मैले आफैलाई रोकेको पनि
हुन सक्छु,
वा त्यो दुवैको विपरित आफ्नै साथीको उपन्यासलाई असाध्यै राम्रो भनिदिदाँ
पक्षकारिता
गरेको देखिने भएकाले आवश्यक जति पनि तारिफ नगरेको हुन सक्छु । मैले जानेसम्म
यो हुन दिने छैन ।
२. यो समीक्षा
नहुन सक्छ:
म पुस्तक समीक्षक
होइन । समीक्षाका
अनिवार्य अवयवहरु खोज्ने दुख गर्नु भयो भने रित्तै पाउन सक्नुहुन्छ । यसमा ती
कुनै पनि तत्वहरु
नहुन सक्छन् । तर, पाठकले कुनै पुस्तकप्रति, लेखकप्रति, बिषयप्रति, पात्र र घटनाक्रमहरुप्रति
गर्ने टिप्पणीहरु यसमा हुन सक्छन् । त्यसबाट प्राप्त गरेका अनुभूतिहरु यहाँ हुन सक्छन्
। वा, ती कुनै नहुन पनि सक्छन् । कुनै पुस्तकबाट पाठकले केही पाउनै
पर्छ भन्ने जिद्दी मेरो छैन ।
***
अब किताबमा प्रवेश गरौँ
।
१. प्राविधिक पक्ष: सचिन योगल श्रेष्ठले बनाउनु
भएको किताबको आवरण गजब राम्रो छ (यसको पटक पटकको डिजाइन र सम्पादन हेरेको थिएँ । 'गजब आयो
यार!' भनेर मैले नि सहि धस्काएकै हो ।) । लेआउट उमेश काफ्लेले
गर्नु भएको छ । किताब यही बर्ष जेठमा प्रकाशित भएको
हो । उपन्यास २३८ पेजको छ । मुल्य ५५५ रुपैया छ ।
उपन्यासका ३ खण्ड छन्, कथावारी,
कथाको किनारा र कथापारी । कथाको किनारा खण्डमा ऐना, पत्र, मेला, अन्तिम सिट, मेलामा
रमन, खट्टमिठ्ठी, पानी, निम्चुस, उल्टो, बिरामी, परीक्षा, काठमाडौँ, कलेज, ठमेल,
धुवाँ, बन्द, अर्को बाटो, रङ्ग, भेट, जन्मदिन, अन्तर, आँट र जितसहीत २३ शिर्षकहरु छन्
।
पुस्तकमा भूमिका
लेखाउने दुख गरिएको छैन । त्यस्तै कसले सम्पादन गर्यो, कसले शुद्दाशुद्दी हेर्यो भन्ने
जानकारी पनि किताबमा दिइएको छैन । एउटा किताबको सम्पादन गरेर नाम नहुँदा कता कता खल्लो
महसुस गरेको मैले यो किताब सम्पादन गर्नेहरुको मनको ख्याल गर्न सक्छु । : ठुलो डी
।
२. विषयवस्तु
यौनिक अल्पसंख्यकको बिषयमा
लेखिएको उपन्यास हो, अन्तर । तर उपन्यास त्यतिमा मात्र सीमित छैन । उपन्यासको मुलकथासँगै
समाजको भोगाइ, सोचाइ पनि समेटिएको छ । जस्तो कि :
(क) केही अगाडिको
समाज:
समयले छोटो समयमा लामो फड्को मार्यो । केही अगाडिसम्म मात्रै पनि नेपाली
समाज अलग चरित्रको थियो । दैनिकी अलग हुन्थ्यो । मान्छेको रमाइलो र उत्सवको संरचना
अलग्गै हुन्थ्यो । बर्खे बिदामा केटाकेटीहरुको दैनिकी अब फेरिएको छ । गुलेली बोकेर
चरा ताकेर हिड्ने, धापमा दुवाली छेकेर माछा मार्ने केटाकेटीहरु मोबाइलमा अल्मलिएका
छन् । प्रविधि हातहातमा पुगेको छ र परम्परागत खेल, बसिबियालोहरु फेरिएका छन् ।
उपन्यासले हामीबाट छुटेको
त्यो समय, त्यो मौलिकताको सुवास ल्याइदिएको छ । बालापनको रमाइलापलहरुले गाउँले जीवन
भोगेकाहरुलाई त्यहि ठाउँमा पुर्याउन सक्छ । अन्तिम सिट र मेलामा रमन जस्ता घटनाक्रमहरुले
परम्परागत मनोरञ्जनबाट आधुनिक मनोरञ्जनमा फड्किदै गरेको संक्रमणकालिन समयको मज्जा दिन्छ
। यस्ता धेरै प्रसंगहरुले थाहै नपाई हामीलाई केहि अगाडिको नेपाली समाजको अनुभव गराउँछन्
।
(ख) नयाँ 'समस्या': अल्पसंख्यक र फरक विशेषता
भएकाहरुलाई खुल्न, सार्वजनिक हुन अनुकुलता बढ्दैछ । तर अझै पनि यस्ता धेरै बिषयहरु
छन्, जसलाई समाजले नयाँ समस्याकारुपमा लिएको छ । त्यहीमध्येको एक विषय हो, समलैंगिकता
। समलिंगीपनलाई समस्याकारुपमा लिने सामाजिक स्वभाव बलियो छ । समलिंगी सम्बन्धका, विवाहका
र सँगसँगै विभेदका समाचारहरु बाहिरिन थालेका छन् ।
उपन्यासले समलिंगीले भोग्नु
पर्ने अफ्ठ्यारा र गर्नु पर्ने संघर्षको कथा भनेको छ । उपन्यास सके पछि लाग्छ, समलैंगितालाई
समस्या ठान्ने समाजको मनस्थिति चै समस्या हो । समाजको मनस्थिति परिवर्तन हुने हो भने
यसमा कुनै पनि किसिमको समस्या छैन । यसैले उपन्यासले समाजको नयाँ
'समस्या'को पहिचान गरेको छ ।
कथाक्रम
उपन्यासको मुलकथा एक समलिंगी
किशोरको भोगाइ र उसको बढ्दो उमेरसँगै बढ्ने अन्यौल र संघर्षमा आधारित छ । त्यसबाहेक
यसमा उपस्थित हरेक पात्रको आफ्नै स्वभावगत चरित्रहरु छन् । ती मध्येका केही उपकथाहरुले
उपन्यासलाई बलियो बनाएका छन् । समाज र मुलपात्रको चरित्रलाई उकेरा लगाएका छन् ।
१. शब्दको कथा
एक छिन मुलपात्र
शब्दको अनुभूति र मानसिक संघर्षलाई थाती राखिदिने हो भने शब्दको कथानक यस्तो हुन्छ
। एउटा बालक विस्तारै किशोरवस्थामा प्रवेश गर्दैछ । आफ्ना समवयीजस्तै उसको अनुभूति
छैनन् । सँगैका अरु साथीले जस्तो उसलाई किशोरीहरुले आकर्षित गर्दैनन्, उनीहरुको शरिरबाट आउने प्राकृतिक गन्धले उसको सुवास छर्दैन । उसका सपनामा किशोरीहरु आउँदैनन्
। गाउँकै स्कुलमा साथीहरुको लहैलहैमा उसको पनि अनुजासँग 'लभ पर्छ' । तर गाउँले फुपु
साइनो पर्ने आफ्नी प्रेमिकालाई उसले प्रेमिकाभन्दा फुपू
नै देख्न चाहन्छ
। भन्छ, 'तिमी साइनोको मात्र फुपू हैन, साँच्चिकै फुपू बन
। फुपूले गर्ने माया गर । प्रेमिकाले गर्ने माया नगर ।' (पेज १००) आफ्नै प्रेमिकाको
उप्रतिको प्रेम बुझ्दैन । र सोच्छ, उसकी प्रेमिका उसका लागि स्कुलको झोलाजस्ती हो,
बोक्दिनँ भन्न नपाइने, छाड्छु
भन्न नपाइने (पेज ५०) । बरु प्रेमिकाको प्रेमलाई
ऊ दिदीले भन्दा
भाईले सुनेको जस्तो सोच्छ । आमाले भन्दा छोराले सुने जस्तो सुन्छ । ऊ आफ्नै
फुपू हो र उसको खुट्टा ढोग्नु पर्छ भने जस्तो भाव प्रकट गर्छ (पेज ९५) । जब आफ्नै निकट
साथीसँग ऊ आकर्षित
भएपछि अन्तरका बारेमा सोच्न थाल्छ । 'किन अमनको नाङ्गो जिउले अनौठो सुखबोध गरायो ?
किन उसको जिउ छुन मन लाग्दैछ ? (पेज ६०)' । 'अनुजाले छुँदा दुख हुन्छ । अमनले छुँदा
किन सुख भयो ? (पेज ६२)' । बरु एक निकट किशोर साथीप्रति
ऊ आकर्षित
हुन्छ । अनि थाहा पाउँछ, आफू अरु किशोरभन्दा अलग रहेको
। अनुभूतिको तुलनापछि थाहा पाएको अन्तरले उसले निष्कर्ष निकाल्छ प्रेमको । 'अनुजाले
मेरो कम्बरमा समातेझै बेलाबेला उसको (अमनको) कम्मर समातेँ । थाहा पाएँ, अनुजा किन मलाई
यसरी समात्छे । (पेज ७७)'
त्यसपछि सुरु हुन्छ उसको
वास्तविक अन्तरको कथा । एउटा मान्छे भित्र एक र बाहिर अर्कै भएर बाँच्नु पर्दाको उकुसमुकुसको
कथा । कसैसामू भन्न नसक्ने उसको अन्तरको कथा । दुई मान्छे भएर बाँच्नजति गाह्रो यो
संसारमा अरु के होला ? (पेज १५५) । त्यहि गाह्रो भोगाइको कथा ।
ऊ
थप अध्ययनका
लागि काठमाडौँ पुग्छ । काठमाडौँमा पढाइमा अब्बल
ऊ आफूभित्रको
उकुसमुकुसमा गुम्सिन थाल्छ । त्यहि गुम्साइमा गाँजाको अम्मली बन्छ ।
'मभित्रको अर्को मान्छे
एक्लै छटपटाइरहेको छ । त्यो मर्यो भने म पनि मर्छु । (पेज १६०)' भनेर साथीलाई भन्न
तयार हुन्छ । कसै न कसैलाई नभनी बाँच्न गाह्रो हुने अवस्थामा पुगेपछि उसले नजिकको साथीलाई
आफ्नो वास्तविकता भन्छ । तर साथीले अरुलाई सुनाउँछ र
ऊ शब्दबाट
छक्का बन्छ । आफ्नो पहिचानको गुम्स्याइ, गाँजाको अम्मल र घरको जिम्मेवारीविच पिसिदा ऊ आत्महत्याको
लागिसम्म तयार बन्छ । दिक्क भएर मन्दिर र गुम्बा चहार्छ । साधु भेट्छ । साधुसँगको
सामिप्यताबाट
उसले साधुभित्रको उजस्तै अन्तर थाहा पाउँछ र पुन: आफ्नै संसारमा फर्किन्छ, संघर्ष गर्न
तयार भएर ।
साथीबाट प्रेरणा पाएर उसले
आफ्नो बाबुलाई पत्रमार्फत आफ्नो अन्तर सुनाउँछ तर जवाफमा केही
पनि आउँदैन
।
विश्वविद्यालयमा उसले महिलाअधिकारवादी
महिलाको संगतबाट थाहा पाउँछ कि समलिंगीहरु अल्पसंख्यकभित्र पनि अल्पसंख्यकमा पर्छन्,
दलितभित्रका पनि दलितमा पर्छन् र बन्धनमा परेकाहरुबाट पनि बाँधिएकामा पर्छन् । अनि,
सफलताको एउटा मञ्चमा पुगे पछि उसले सार्वजनिक गर्छ, आफ्नो संघर्षको बारेमा । भन्छ,
'मैले सारा डर त्यागिसकेँ । घरपरिवारको इज्जतको ठेक्का बिसाइसकेँ । म मेरो जीवनको मात्र
जिम्मा लिन्छु । मेरो जीवन, मेरो अधिकार । मेरो शरीर, मेरो हक । मेरो अनुभूति, मेरो
विश्वास । म म हुँ र म तपाईभन्दा अलग छु, गलत छैन' (पेज २३७) । ऊ गर्व
साथ भन्न तयार हुन्छ, ऊ समलिंगी हो (पेज २३७) ।
२. उपकथाहरू
(क) बाआमाको कथा
बा अर्थात श्यामनाथ अर्थात
बिबिसी हुलाकी । आमा अर्थात शर्मिला । शब्द अर्थात श्यामनाथ र शर्मिलाको छोरो । श्यामनाथले
ढाड कुप्रिन थाले पछि मात्रै सन्तानसुख भोग्न पाए । बुढ्यौलीमा जन्मिएको उनको छोरोलाई
उनी बुढो भएको मन पर्दैन थियो । उनीबाट छोरो टाढिन चाहन्थ्यो । कारण हो, 'भुरा साथीहरुले
उसलाई भन्थे, "तेरा बाउ बुढो छ । हजुरबा भन् ।”, (पेज
३)' ।
तर उपन्यासको कथा श्यामनाथ
र शर्मिलाको होइन । उनीहरुको छोरा शब्दको हो । तर उपन्यासभरी बाआमाले छोरोको कथालाई
प्रभाव पारिरहन्छन् ।
बा श्यामनाथलाई आफ्नो छोरोलाई
एसएसलसीपछि काठमाडौँमा पढाउनु छ । यसैले मेलम्ची काठमाडौँ आउन लागेको समाचारले गाउँमा
रहेका उनको ओठमा मुस्कान छरिन्छ । उनी समाचार सुनेर खुसी भएर भन्छन्, 'अब पानीको दुख
नहुने रैछ है काठमाडौँमा' (पेज ९) ।
उनी औसत बा हुन् । उनलाई
छोराले अरु भन्दा धेरै प्रगति गरेको हेर्नुछ । उनी छोरालाई पुर्याउन सँगै काठमाडौँ
पुग्छन् । शहरबाट छोराले कम्प्युटरमा टाइप गरेर चिठी पठाइदिए गर्वले गाउँभरी चिठ्ठी
देखाउँदै हिड्न सक्छन् । र भन्न सक्छन्, 'तँलाई म घरखेत बेचेर पनि पढाउँछु ।' (पेज
१३६) । तर छोराले आफ्नो जीवनको त्यत्रो अन्तरको उनलाई खबर दिदा दुखमा उनी मौनतामा डुबिदिन्छन्
। निराशाले बिरामी बन्छन् ।
फोनमा एक दिन आमाले
सुनाउँछिन्, 'बालाई के भयो, भयो । खाना राम्रो खानुहुदैन । कोहीसँग बोल्नुहुदैन । गाउँ
डुल्नुहुदैन । एकतमासको हुनु भएको छ । जागिर छाड्नुभयो । धेरै दुब्लाउनु भएको छ । धामीकोमा
जाउँ भन्छु, मान्नु हुन्न । डाक्टरकोमा जाउँ भन्छु, कुनै बिमार छैन भन्नुहुन्छ ।'
(पेज २३०) ।
आफ्नै अन्तरको संघर्षमा
रहेको शब्दलाई त्यसमा पनि पश्चाताप हुन्छ । सोच्छ, 'मैले बाको जीवनमा आगो झोसिदिएँ
।' (पेज २३१) ।
तर आमा स्वभावैले बाभन्दा
फरक छिन् । तर आमाको औसत स्वभाव उनीसँग पनि छ । बिहेमा आएको एउटा ऐना आफ्नै छोराले
फुटाइदिदा उसको जन्ममा नै खोट देखाएर भन्छिन्, 'केही
बाँकी नराख्ने
भइस्. के जन्मिस् के ?' (पेज ३१) तर उहि छोराले सार्वजनिक मञ्चबाट म समलिंगी हुँ भन्दा
भन्न सक्छिन्, 'तँ मेरो सन्तान होस् । तँ जे भए पनि हुन्छ मलाई ।' (पेज २३८) ।
यसैले उपन्यासमा औसत बाआमाको
कथा छ । जसले आममानिसको जीवनमा समलिंगी सन्तान हुँदाको परिवर्तनका बारेमा पृष्ठभुमि
बनाउन सहयोगी बनेको छ ।
(ख) अमनको कथा: अमन शब्दको बालखैदेखिको
साथी हो । खोलामा नांगै पौडी खेल्दा होस् वा ऐनाका अगाडि नांगै उभिएको अनुभव सुनाउँदा
होस् वा प्रेमिकालाई चिठ्ठी लेनदेन गर्दा होस् वा म समलिंगी हुँ भनेर शब्दले सुनाउँदा
होस् वा विश्वविद्यालय 'टप' गरेपछि आमालाई ल्याउने बेलामा
होस्, शब्दसँग अमन साथै रहन्छ ।
अमनको
आफ्नै कथा छ । ऊ किशोर हुँदै एउटै स्कुलकी
स्वस्थानीलाई मन पराउँछ । उनीहरुको प्रेम हुन्छ । स्वास्थानीले उसलाई थाहै नदिइ अन्तै
बिहे गर्छे । ऊ पनि उमेर भएपछि बिहे
गरेर आफ्नै घरसंसारमा रमाउँछ ।
शब्दको जीवनका अधिकतम मुख्य
घटनाहरुमा अमन सँधै साथै रहन्छ । त्यो बाहेक अमन त्यस्तो मान्छे हो जसले शब्दलाई पहिलो
पटक स्पष्टरुपमा समलैंगिकताको अनुभूति दिलाएको हुन्छ । शब्द अमनप्रति यति धेरै आकर्षित
हुन्छ कि उसलाई अमनको प्रेमिकाप्रति इर्ष्याभाव रहन्छ । उसलाई किशोरअवस्थाभर अमनमा
आफ्नो मात्रै हक लाग्ने अनुभव हुन्छ । पछि स्वामी तेजले शब्दलाई आफ्नो प्रेमको बारेमा
भनिरहदा अमनले तुलना गर्छ । 'म अमनप्रति जति आकर्षित भएँ, त्यति नै मप्रति स्वामी तेज
पनि आकर्षित भइरहेका रहेछन् । (पेज १८२)'
अमनले शब्दको अन्तर थाहा
पाएपछि शब्दलाई ढाढस दिन्छ र भन्छ, 'पहिला नै भन्न पर्थ्यो नि । (पेज १८७)' । आफ्नो
बारेमा थाहा पाएपछि घरमा अब सबै कुरा बिग्रियो भन्ने सोचेर 'आमाको भान्सामा अब कहिल्यै
खिर पाक्नेछैन ।'
(पेज २२६)' भनेर शब्द निराश भएको बेला शब्दका लागि शब्दको घर गएर
सम्झाउने (पेज २३४) अमन नै थियो ।
यति भन्नै पर्छ कि अमन पात्र
एउटा आदर्श साथी
हो ।
(ग) रमन, अनुजा, बलदेव र
अम्बिकाको कोलाज: रमन
पनि शब्दकै क्लासमेट हो । तर उमेर केही बढी । सुरो । आँटिलो । स्वछन्द
। रमनले अम्बिकालाई मन पराउँछ । प्रेम प्रस्ताव राख्छ । हातमा ब्लेडले चिरेर अम्बिकाको
नाम लेख्छ । यसैले उसले सँधै शब्दलाई झस्काइरहन्छ कि
ऊ किन रमन
जस्तो छैन । शब्दलाई आफूमा केही
अलग भएको अनुभूति
दिने रमन नै हो । किशोरावस्थामा शब्दका लागि रमन आदर्श किशोर हुन्छ । मेलामा कसैलाई
जोगाउने हुँदा ऊ जेल
पर्छ । त्यसपछि स्कुल नफर्किएको रमनको उपन्यासमा भूमिका छैन ।
अनुजाले सँधै शब्दलाई निशर्त
प्रेम गर्छे । शब्दसँग बिहे गर्न चाहन्छे तर उसलाई थाहा छ, परिवारको मञ्जुरी बिना त्यो
सम्भव छैन । सामाजिक विभेदकाबारेमा ऊ जानकार छे । ऊ भन्छे,
'नमानेर कहाँ हुन्छ । दिदीले पनि मानेकी थिइन, बिहे भयो । काकाकी छोरीले पनि मानेकी
थिइन, बिहे भयो । मैले नमानेर मेरो बिहे रोकिदैन । मेरो बिहेमा मेरो के अधिकार? हामी
छोरी हौँ । (पेज १००) ।' उही अनुजा पछि माओवादीमा लागेर
भुमिगत छापामार बन्छे । 'पछाडि पारिएका सम्पूर्ण वर्ग एकजुट हुनु पर्छ (पेज
१३४)' भन्दै भाषण गर्ने हुन्छे । र, पछि शहीद हुन्छे (पेज १८९) ।
बलदेव त्यही
साथी हो, जोसँग
शब्दको क्याम्पसमा पहिलो पटक मित्रता भएको हुन्छ । भिन्न किसिमको आत्मियता हुन्छ ।
आफूभित्रको
अन्तर, गाँजाको लत र परिवारको जिम्मेवारीबिचमा पिल्सिएर मानसिकरुपमा शब्द क्षतविक्षत
हुन्छ । उसले आडभरोसाका लागि बलदेवसामू पहिलो पटक खुल्छ र भन्छ, आफ्नो वास्तविकता ।
तर बलदेवले क्याम्पसमा अरुका सामू थेत्तरो पारामा
हल्ला गरिदिन्छ । मानसिकरुपमा शब्द झन् व्यथित बन्छ । 'हावा, पानी, माटो, ढुंगा सबले
मलाई छक्का भनेर गिज्याएझै लाग्न थाल्यो । (पेज १६८)' भनेर ऊ आत्महत्याको असफल प्रयास गर्छ ।
अम्बिका पनि शब्दकै स्कुलकी
साथी हो । रमनले प्रेम प्रस्तावको चिठ्ठी अम्बिकालाई लेख्यो । अम्बिकाले जवाफ दिइ,
'असती मुर्दार,
तेरो घरमा दिदीबैनी छैनन् ! (पेज १६)' । त्यसपछि पनि रमनले अम्बिकाको पिछा छोडेन ।
तर त्यहि बर्षको दशैँ बिदापछि अम्बिका स्कुल आइन (पेज १७) । पछि एक्कासी शब्द विश्वविद्यालय
भर्ना भएपछि परिचयका क्रममा अम्बिका भेटिइ (पेज १९४) ।
ऊ महिलावादी
छे । पुरुष र महिलाबिचको विभेद हटाउने क्रान्तिमा समाहित छे । तर जब शब्दले समलिंगी
अधिकारको लागि पनि आवाज उठाउँछ, उसले भन्छे, 'कहिलेबाट ती छक्काहरुको अधिकारबारे चासो
गर्न थाल्यौ ? (पेज २२८)' । यसपछि शब्दमा शंका बढ्छ कि बलदेवकै इतिहास दोहोरिन्छ भन्ने
। उसलाई लाग्छ, 'मलाई बुझिदेली भन्ने लागेको थियो । मैले उसलाई मेरो
कथा भन्नै नपाई ऊ मेरो
कथा सुन्न नसक्ने प्रमाणित भई । मैले उसलाई म को हुँ भनेर बुझाउन नपाई ऊ नबुझ्ने
अफ्ठ्यारी भई । (पेज २२९)' शब्दले आफू समलिंगी भएको घोषणा गर्दा
अम्बिका छक्क परेकी छ ।
रमन, अनुजा, बलदेव र अम्बिकाको
चारित्रिक कोलाजले अलग अलग तर सामाजिक स्वभावहरुको चरित्र चित्रण गरेका छन् । रमन जसले
शब्दको लागि पुरुषको मानक स्थापित गर्छ । अनुजा जसले रमनमार्फत बनेको मानकसामू शब्दको
अन्तरलाई अंकुरित गरिदिन्छ । बलदेव जसले शब्दको वास्तविकतालाई हल्ला र नकारात्मक धारणा
बनाउँछ । र, अम्बिका जसले अल्पसंख्यकभित्र पनि वर्ग विभाजन गरेर दलितभित्रका दलितहरुको
समस्यालाई नजरअन्दाज गरिदिन्छ । यी चरित्रहरुले अन्तर उपन्यासलाई बिषयप्रति थप मुखरित
बनाएका छन् ।
(घ) स्वामी तेजको कथा: यो उपकथा छोटो तर अर्थपुर्ण
छ । सांसारिक जीवनबाट वाक्क भएर स्वामीहरुप्रति आकर्षण भएको शब्दलाई स्वामी तेजले फेरि
सांसारिक जीवनमा फर्काइदिन्छन् । स्वामी तेजसँग हाइकिङ गएपछि थाहा पाउँछ, स्वामी तेज
पनि समलिंगी हुन् । र, उनी शब्दसँग आकर्षित छन् ।
छोटो उपकथामा आफ्नै कोठामा
आगोले पोलेको घाउ र त्यहि औँलामा ढोका बन्द गर्दा पुन: लागेको घाउ बिम्बात्मकरुपमा
पुरानो अवस्थालाई देखाउन सफल भएका छन् । त्यसपछि रगत बग्दै गरेको घाउ च्यापेर शब्दले
'म पछाडि नफर्की अगाडी-अगाडी दगुरिरहेँ ।' (पेज १८३) भन्नुले
ऊ पुन: सांसारिक
संसारमा फर्किएको मिठो विम्ब सिर्जना गरिएको छ ।
(ङ) गोमा एक्लीको कथा : गोमा गाउँकी महिला हुन्
जसले आफ्नो सम्पन्न श्रीमान छोडेर माइती आएर एक्लै बसेकी छन् । यसैले उनलाई एक्ली भनेर
बोलाउँछन् । उनले श्रीमान छोड्नु पछाडीको कारणका रुपमा फरक फरक अफवाह र अनुमानहरु छन्
। तर जब बुढ्यौली टेक्दै गरेकी एक्लीसँग शब्दले संवाद गर्छ तब शब्दको अनुमान फेरिन्छ
। उसलाई आफू र एक्लीले भोगिरहेको अन्तरका बारेमा हेक्का हुन्छ
। 'फारु नगरी हास्ने, फारु नगरी बोल्ने (पेज ३३)' एक्लीसँग संवाद पछि शब्दले सोच्छ, 'के मैले जे भोगिरहेको छु, त्यैबाट गुज्रेर
बुढी भएकी हुन् गोमा दिदी पनि ? (पेज २११)' । ती एक्ली
मान्छे चुपचाप गाउँबाट बिदा भएर बुढेसकालमा देवघाट आश्रमतिर लाग्छिन् (पेज २३०) ।
उपन्यासमा एक्ली गोमाको
उपकथाले समलिंगीहरुको एक्लो संघर्षलाई चरित्र चित्रण गरेको छ । 'अरुसँग जुध्नुअघि मान्छेले
आफैसँग जुध्नु पर्छ । गोमा दिदी आफूसँग जुधिन् । आफूलाई
जितिन् । खुसी भइन् । (पेज २११)' । उनको जीवन भोगाइ देखेर शब्दलाई संघर्षका लागि थप
तयार पारेको देखिन्छ ।
अन्त्यमा,
सायनले अन्तरमार्फत यस्तो
संवेदनशील बिषयलाई छोएका छन्, जसमा केही गलत लेखिदा विभेदको र अपमानको
पिडामा परेका वा पर्छु भनेर डराएकाहरुलाई थप पिडा दिन सक्छ । तर पुरै उपन्यास पढिसक्दा
सायनले पिडा दिएका छैनन्, बरु उनीहरुको सम्मानीत जीवन र उनीहरुको अस्तित्वको स्वीकार्यताको
लागि आवाज बुलन्द बनाएका छन् । आफूभन्दा अगल पहिचान र
त्यसमा पनि अलग यौनिक पहिचानको बारेमा लेख्दा देखाउनु पर्ने सावधानीको कारणले
सायनले कतै न कतै लय बिगार्छन् कि भन्ने डर मलाई किताब सक्नु अघिसम्म भयंकर थियो
तर पढेर यति चाँडै सकियो कि मैले सधैँ डराइरहनु परेन । मुद्दा र कला दुबैका
दृष्टिकोणले अन्तरको सम्पूर्ण अन्तरकुन्तर टट्कारो छ । जीवन्त छ । सुन्दर छ ।
यति हुँदाहुँदै पनि उपन्यासका
केही संरचना र शैलीले पाठकको मन बिझाउने ठाउँ खोजे अवश्य भेटिन्छन् । फिल्मी झैँ लाग्ने गरी कमसल
पात्रका पुनरागमनका घटनाक्रम पनि छन् । नपत्याए कथाको अन्त्यमा महिला अधिकारवादी
देखाइएकि अम्बिकालाई नै हेर्नुस् । बाल्यकालका पाठकले सजिलै
बिर्सने गरी बिलाएकी साथी
अम्बिकालाई नै पछि कथामा ल्याइराख्न जरुरी थिएन । अम्बिकाको चरित्रका लागि अन्य कोही
युवती नै भए पनि उत्तिकै बलियो र प्रभावकारी हुन सक्थ्यो । लेखक सायनलाई अनुहारहरु
छुटाउन मन नपर्ने स्वभावको प्रभाव आफ्नो लेखनीमा पनि पर्यो कि?
र, यौनिकता र अन्तरलाई पुर्विय
दर्शन र सभ्यताको बिषय उपन्यासमा छैन । हो, त्यो भाग छुट्दैमा वा रहदैमा पात्रको भोगाइलाई
फरक पार्दैन थियो भन्नेमा असहमत पनि हुन सकिदैन । तर पुर्विय दर्शन र सभ्यताको दृष्टिकोण
नआउदा पुस्तक पढेको निकै समय पछि त्यो अलिक छुट्यो कि भन्ने लाग्न सक्छ ।
कथाको अलगपन अनि
सायनको शब्दको जादूले ज्यादै तानिएर पनि होला मैले कथाका
सबै अवयवलाई ध्यान दिन सकिनँ । मेरो मानवीय त्रुटि वा औसत पाठकिय चरित्र हुन पर्छ
। कतिपय सन्दर्भमा ईच्छा हुँदाहुँदै पनि त्यसरी ध्यान दिने अवसर समेत पाइनँ । यो
अवसरको अप्राप्ति कतै स्थायी अप्राप्ति हो कतै अस्थायी ।
***
छुट्नुअघि:
नेपाली साहित्यमा राम्रो
उपन्यास पढ्न चाहनेहरुले, सामाजिक विभेदका बारेमा जान्न चाहनेहरुले, अल्पसंख्यक त्यसमा
पनि यौनिक अल्पसंख्यकहरुका बारेमा जान्न चाहनेहरुले पढ्न पर्ने उपन्यासको सूचिमा राख्छु
म ।
र्यान्डम रिडर्स सोसाइटीको १०० औँ शृङ्खलामा मितिः
२०८०/०५/३० गते प्रस्तुत अवधारणापत्र
0 Comments