पोखरा २०६७ भदौ १९ ।
उपन्यासकार तथा समालोचक कृष्ण धराबासीको बहुचर्चित उपन्यास ‘टुँडाल’ विषयक बहसपूर्ण पुस्तक परिचर्चा तथा स्रष्टा साक्षात्कार कार्यक्रम पोखरेली पुस्तकप्र्रेमीहरूको एक भेलाबीच धराबासीकैे उपस्थितीमा शनिबार सम्पन्न भयो ।
प्रत्येक महिना ३ फरक विधाका पुस्तक तथा समाजिक बिषयबस्तुमाथि बहस चलाउने उद्घोषसाथ स्थापना भएको ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले आफ्नो पहिलो कार्यक्रम उपन्यासकार धराबासीको समुपस्थितीमा सम्पन्न गरेको हो । संस्थाका सदस्यहरू तथा विभिन्न क्षेत्रमा आवद्ध पुस्तकप्रेमी, समालोचक तथा अनुसन्धानकर्मीहरूको एक भेलाबीच सम्पन्न उक्त कार्यक्रममा डा. विष्णु पौडेलले ‘टुँडाल’ उपन्यासमाथि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने संस्थाका अक्ष्यक्ष राजेन्द्र चापागाईँ ‘आहत’ले कार्यपत्रमाथि टिप्पणी तथा पाठकीय विवेचना गर्नु भएको थियो ।
कार्यक्रमका बीच उठेका जिज्ञासालाई स्रष्टा धराबासी तथा कार्यपत्र प्रस्तोता डा. विष्णु पौडेलले समाधान गर्नु भएको थियो । यस क्रममा बोल्दै धराबासीले ‘फ्रायडको सिद्धान्त पूर्वीय दर्शनको फोटोकपि भएको’ बताउँदै ‘हामी पश्चिमा संस्कृतिको भुलभुलैयामा रहँदा पूर्वीय जीवनदर्शनको महत्व कम पारिएको’ बताउनु भयो । ‘नेपालमा प्रायोजित लेखन गर्नुलाई नराम्रो मान्नेहरूमा हिन ग्रन्थी हावी भएको कुरा राख्दै वहाँले ‘साहित्यको श्रीवृद्धिका लागि सरकारले लेखनबृत्तिमाथिको लाग्दै आएको कर छुट हुनुपर्ने’ बताउनु भयो ।
कार्यक्रममा बोल्दै सोसाइटीका अध्यक्ष तथा कार्यक्रमका टिप्पणीकार राजेन्द्र चापागाई ‘आहत’ले उपन्यासले ‘फ्रायडको यौन मनोविज्ञानको विषयबस्तुबीच पात्रहरूलाई उभ्याए पनि फ्रायडकै मनोविज्ञानलाई पुस्तकमा ईन्कार गर्नु मनासिव नभएको’ विचार व्यक्त गर्दै ‘नारीवादीतालाई पुरुषप्रधान मनोवृत्तिबाट प्रेसित गर्नु’ गलत भएको औल्याउनु भएको थियो ।
स्रष्टाको परिचय सहित पाठकीय विवेचना गर्नु भएका सोसाइटीका सदस्य अमित रिजालले ‘धराबासी नेपाली साहित्यमा विनिर्माणवाद र उत्तरधानिकताका बीच लिलालेखनको सफल प्रयोग र विस्तार गर्ने’ नेपाली उपन्यासकार भएको बताउनु भयो ।
उक्त कार्यक्रममा सोसाइटीका पुस्तक छनौट समितिका सदस्य नगेन्द्र भण्डारीले स्वागत मन्तब्य तथा कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो भने साहित्यकार तथा पत्रकार बसन्त बस्नेत तथा तारा बरालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
त्यस्तै स्रष्टा धराबासीको ‘टुँडाल’को औपन्यासिकतामाथि प्रा.डा. रविलाल अधिकारी, प्रा.डा. पशुपतिनाथ तिमल्सेना, लक्ष्मीशरण अधिकारी, गणेश शर्मा, बाबुराम सुवेदी, टिकाराम आचार्य, शुष्मा पौडेल, सूर्य खड्का ‘बिखर्ची’, जनार्दन दहाल, अनन्त प्रसाद पौडेल, शुक्र अधिकारी, दीपक परियार, क्षेत्र के.सी., दुर्गा शाह ‘बाबा’, रघुनाथ अधिकारी, अमित रिजाल लगायतले टिप्पणी तथा जिज्ञासा राख्नुभएको थियो । सोसाइटी अन्तर्गतको पुस्तक छनौट समितिका संयोजक कृष्ण के.सी.को नायकत्वमा संचालित उक्त कार्यक्रममा सचिव गनेस पौडेलले सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो ।
0 Comments